खोटाङको बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

  • मंसिर ३, २०८०
  • ७,२०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३मंसिर ःपूर्वको धार्मिक जिल्लाको रुपमा परिचित खोटाङको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरीने भएको छ ।

बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा सो उत्सव आयोजना हुा लागेको हो ।

आयोजकले दिएको जानकारी अनुसार मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना हुनेछ ।

आयोजक गाउृपालिका अध्यक्ष शालिकराम वन्जराले महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने जानकारी दिएका छन्।

“धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लाग्ने गरेको छ। यसलाई प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ”, उनले भने, “बराहपोखरीमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ। आगामी दिनमा समेत यसलाई (सांस्कृतिक महोत्सव) निरन्तरता दिने योजना बनाइएको छ।”

महोत्सवमा चर्चित गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्रीलगायतका दुई दर्जन बढी कलाकार सहभागी हुने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिएका छन्।

मङ्सिर–६ गते बिहान १० बजेदेखि सुरु हुने सांस्कृतिक महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’का विजेताकोसमेत साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ।

परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभर दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ। संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले एक सय वटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको छ।

हरिबोधनी एकादशीका अवसरमा विशेषगरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र सङ्गिनीसमेत नाच्ने चलन छ। बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

चार दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको छ। बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ।

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ। चारैतिर पहाडैपहाडको बीच भागमा रहेको समथर जमिनमा अवस्थित बराहपोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ।

बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ। जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ।

बाह्रै महिना हरियो देखिने यस बराहपोखरीको पानीले नुहाएमा मोक्ष पाउने जनविश्वास रहेको छ। विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ।

चाडपर्वअनुसार फरकफरक समयमा फरकफरक प्रकृतिको मेला लाग्ने बराहपोखरीको प्रवद्र्धन गर्न गाउँपालिकाले यसपटक सांस्कृतिक महोत्सवको आयोजना गरेको गाउँपालिका उपप्रमुख भूवलराज राईले जानकारी दिनुभयो।

“महोत्सव सफल पार्न गाउँपालिकाको तर्फबाट विभिन्न उपसमितिहरु गठन गरेर परिचालन गरिएको छ। गाउँपालिकाद्वारा परिचालित उपसमितिले तयारीलाई तीव्रता दिएका छन्”, उनले भने, “धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पहिलो पटक आयोजना गरिएको सांस्कृतिक महोत्सवले छुट्टै माहोल सिर्जना भएको छ। यसले बराहपोखरीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।”

प्राकृतिकरुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयको हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन्।

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ। डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ।

बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघेसङ्क्रान्तिका दिन लाग्ने मेलामा सतबीज छर्ने चलन छ। धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेला भर्न र दर्शन गर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभाका दर्शनार्थीसमेत आउने गरेका छन्।
रासस

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic