यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व

  • कार्तिक २९, २०७७
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०कार्तिक ः यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत

यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकालेु, उहाँले भन्नुभयो ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म -म्ह० पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गर्नुभएको छ । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उहाँको आरोप छ ।

धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उहाँको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic