छाल खवर
धरान,१४चैतः धरानमा आयोजित चौथो संस्करणको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको आयोजनामा शनिवार धरानमा प्रतियोगिता सम्पन्न भएको हो ।
गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ भारतको दार्जिलिङकी प्रिया तामाङ विजेता बनेका छन् ।
१० किलोमिटर दूरीको प्रतिस्पर्धामा उमेश थापाले २५ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । उनले उपाधिसहित नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हात पारिन् । उनले पनि २० हजार रुपैयाँ पुरस्कार जितिन् । प्रिया यसअघि धरान रनमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेकी धाविका हुन् ।
पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान ल्याउन सफल भए भने अमिर लिम्बु २५ मिनेट ५४ सेकेन्ड दौड पुरा गरी तेस्रो स्थान ल्याउन सफल भएका थिए । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गरेका थिए ।
महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दोस्रो र दीपा बस्नेत ३० मिनेट ५५ सेकेन्डमा तेस्रो भइन् । उनीहरूले आफ्नो स्थानअनुसार नगद पुरस्कार तथा सम्मान प्राप्त गरे ।
पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । विजयकुमार राई दोस्रो र बिमान तामाङ तेस्रो स्थानमा चित्त वुझाए । महिलातर्फ जमुना लिम्बुले ४२ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै पहिलो भइन् भने कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
विश्वका विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा दौड प्रतियोगिता आयोजना गरिदै आएको छ ।
प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायत विभिन्न जिल्लाबाट ६ सय ५० जना भन्दा बढी धावक(धाविकाको सहभागिता रहेको आयोजकले जनाएको छ । दौड धरान १८ को रत्नचोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन नगरका कार्यवहाक प्रमुख अईन्द्रविक्रम बेघाले गरेका थिए । विष्णुपादुकास्थित भन्ज्याङमा सम्पन्न समापन समारोहमा २० नं. वडाका अध्यक्ष पदम बहादुर लिम्बुले विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितालाई निरन्तरता दिदै जाने ट्रष्टका अध्यक्ष महेन्द्र राईले वताए । ट्रष्टले केरावारी, भोजपुरमा समेत दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic